Thursday, July 12, 2018

युद्धको घोषणापत्र - रीमा केसी


                              

आफ्नै आँखासामु
सपनाको घर जलिरहेको बेला
आदर्शको जमीन धाँजा फाटेर
स्वाभिमानको धरहरा ढलिरहेको बेला
समयको जग हल्लाउँदै
देशलाई पात बनाएर उडाउने
कपटी आँधी चलिरहेका बेला
आफ्नै आँगनमा आफ्नो अस्मिता जोगाउन
आमा खुनी पञ्जाहरुसँग लडिरहेका बेला
तिमी पुर्पुरोमा हात राखेर
नयाँ कविता लेख्न खोजिरहेछौ

क्रान्तिको लागि मृत्युको शपथ खाएको युवा
सत्ताको वेश्यालयसँग सपना साटिएपछि
खाडीमा नाडी बजारिरहेको पाएर
जब धिक्कार्यो उसलाई आफ्नै लाचारीले
एक थान जिन्दगीलाई
सिलिङ फ्यानमा झुण्ड्याइरहेको बेला
तिमी गीतको नयाँ अन्तरा कल्पिरहेछौ

मैले मेरो जम्मै विश्वास जिम्मा लगाएको नेता
मलाई सिकाउन खोज्दैछ
बलिदानी र बेइमानी उस्तै उस्तै हो
मलाई पढाउन खोज्दैछ
उद्देश्यको सौदाबाजीमा प्रयोगको गणित
र अरुको आँसु बेचेर आफ्नो हाँसोको हिराको हार किन्ने कला
हो, ठीक यतिबेला मस्तिष्कघातको शिकार बनाइएका छन्
विचारको बाटो हिड्ने सम्झौताहीन चेतनाहरुलाई
तर तिमी नयाँ उपन्यासको प्लट सोचिरहेछौ
तिनीहरु भन्दैछन्
यो बजार हो ,बजार
यहाँ जे पनि बिक्छ
फूल बिक्छ
पहाड बिक्छ
नदी बिक्छ
आँसु बिक्छ
हाँसो बिक्छ
सपना बिक्छ
सिद्धान्त बिक्छ
विवेक बिक्छ
बिक्छ आमाको लहरे खोकी
र बिक्छ सिङ्गो देश पनि
आदर्श र इमानको के कुरा गर्नु र खै रु
स्वयं मान्छे बिक्छ यहाँ
तर कानमा कोचेर संवेदनहीनताको कपास
तिमी कोरिरहेछौ आफ्नै अहंकारको आत्मकथा
र म लेखिरहेछु
मान्छेलाई फगत मासुको थुप्रो बनाउदै
मानवीय आत्मसम्मानलाई
बजारु वस्तुको रुपमा प्याकेजिङ गरेर बेच्ने
कारखानाका व्यापारीहरुविरुद्ध
एउटा निर्णायक युद्धको घोषणा ।








3 comments: