Sunday, June 16, 2019

तिमसेनाको ‘आवरण’ लप्सेफेदीमा अनावरण

काठमाडौँ, १ असार । कथाकार रवीन्द्र तिमसेनाको लघुकथा सङ्ग्रह ‘आवरण’ शनिबार सार्वजनिक गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान र लघुकथा समाज नेपालले लप्सीफेदी संयुक्त रूपमा आयोजना गरेको गोष्ठीका अवसरमा उक्त सङ्ग्रह सार्वजनिक गरिएको हो ।
मकालु प्रकाशन गृहद्वारा प्रकाशित उक्त कृतिको नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’, प्रतिष्ठानका आख्यान विभाग प्रमुख माया ठकुरी र लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो । गोष्ठीमा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले लघुउपन्यास र लघुकथाको स्वरूपबारे गोष्ठीपत्र प्रस्तुत गर्नुभयो भने साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’ले गोष्ठीपत्रमाथि टिप्पणी गर्नुभयो ।
कार्यक्रममा बोल्दै सदस्य सचिव प्रेक्षितले लघुकथा विधाप्रतिको रुचि लेखक र पाठक दुवैमा बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । आख्यानकार ठकुरीले लेखकको व्यङ्ग्यात्मक अभिव्यक्ति कलाले ‘आवरण’ पठनीय कृति बनेकाले पाठकबाट सहजै अनुमोदित हुने आशा व्यक्त गर्नुभयो । लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले नयाँ कृतिले नेपाली लघुकथाको भण्डार वृद्धि गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । लघुकथा समाज नेपालका सचिव तुलसीहरि कोइराला र समालोचक डा. पुष्करराज भट्टले पनि कार्यक्रममा आफ्ना धारणा राख्नुभएको थियो । 

1 comment: