Thursday, March 26, 2020

उदास साँझ - सोझो गाउँले



दिन ढल्दै ढल्दै दिलको घाम अस्ताएर
आफ्नो लास आफ्नै आँखा अगाडि
चितामा जलेको देखेपछि
सुनसान मनको मसानघाटबाट
धुवाँको मुस्लोसँगै उडे
जीवनका अवशेषहरु

धागो टुटेर उछिट्टिएको चङ्गाझैँ
सपनाको बेहोसी घोडा कुदाउँदाकुदाउँदै
अकस्मात् ! घुम्तीमा ठोक्किएका
चाहनाहरु
र टुक्रिएको मनका रङ्गिबिरङ्गी
तरङ्गहरु
बादलका धब्बा बनेर गोधूलीमा तैरिँदै
पर.. पुगेर क्षितिजतिर हराउँछन्

दिनभरि सुरुङ खनेर गन्तव्य
नभेटिएपछि
भ्वाँङ परेको पहाड यो छातीभरि
ढलपल ढलपल एक मुठी सास बटुली
आफ्नै रगत चोपेर लेखेका गीतका
पानाहरु
आफ्नै हातले जलाइदिनुपर्छ

बादल र वर्षाको गड्याङगुडुङबिच
बिजुली बनेर चम्किने खुसीहरु
सरु सुरुमा साह्रै रङ्गिन लाग्छन्
चुइँगम चपाउँदाचपाउँदै गुलियो कम हुँदै
अन्तमा रबर चपाएर चित्त बुझाउनुपर्छ

समयका विषालु वाणहरुको
हरेक प्रहारको  जवाफमा
ङिच्च दाँत देखाउनु पर्ने यो जिन्दगी
यो जिन्दगी एउटा कठोर कारागार रहेछ
हजारौँ सपनाहरु निसास्सिएर मरेका
छन् यहाँ
यो होचो सिलिङ र साँघुरा भित्ताहरुसँग
ठोकिएर
ढलेका छन् कैयन् रहरहरु

तर जिन्दगी त त्यति मात्र होइन
कारागारभित्र पनि जिन्दगीका लागि
ठाउँ छ
त्यो ठाउँमा सकेजति फैलिनुपर्छ,
फाट्नुपर्छ, तन्किनुपर्छ, उफ्रिनुपर्छ
लम्पसार पर्नुहुन्न आँखा चिम्लेर
आँखा खोलेरै अङ्गप्रत्यङ्ग चलाइदिनुपर्छ

बलेको मैनबत्तीझैँ
मुटुको बोसो तप्किए पनि
पिँधमा थेग्रिएको पीडाको खात जलाएर
ज्योति फिँजाउँदै चम्किनुपर्छ
थाँक्रोमा झुन्डिएर काँक्रोले
आकाश छुन खोजेझैँ
आशाको त्यान्द्रो समातेर
निस्फिक्री बाँचिदिनुपर्छ

पूर्वको रातो सूर्यसँगै
बिहान उदाएका आशाका किरणहरु
मध्याह्नको प्रचण्ड गर्मीसँग पौँठेजोरी
खेल्दै
साँझमा जब डाँडामाथिको घामसँगै मरेर
जान्छन्
तब क्षितिजको गोधूली हेरेर
एकसुरले एकान्तमा टोलाउनुपर्छ
सम्साँझमा बास माग्ने बटुवा यो मन
बेलुकी निद्राको ओडारमा बास बसेपछि
रातभरि सपनाको भूतले सताउँछ
सपनामा शिखरै टेके पनि
भोलिपल्ट सखारै बिउँझिएर
उही पुरानो अनुहार ऐनामा हेर्दै
भित्ताको क्यालेन्डर फर्काइदिनुपर्छ...।।
                  

1 comment: