Wednesday, July 25, 2018

पक्षपात – डा. बच्चु कैलाश कैनी

जीवनको आधार हो हावा
तर, हावा नै छैन यहाँ तटस्थ
कहिले स्थिर जस्तै हलचल छैन
कहिले बेगमा हुरी बनेर आएको छ
कहिले पानीसंगै आंधी बनेर आएको छ
कहिले तातो हावा बनेर पसिना निकाल्छ
कहिले चिसो सिरेठोमा लगलग कमाउँछ
छैन हावा सधैं उस्तै
छैन यो यहाँ तटस्थ
समय अनुसार बदल्छ आफ्नो गति र तापमान
त्यसैले त यो हावा हो
पक्षपाती छ र त यो हावा हो ।

जीवनको आधार हो पानी
तर, पानी छैन यहाँ तटस्थ
यहाँ पानी समुन्द्र बनेर पृथ्वी ओगटेको छ
कहीं  ईनार वा कुवांमा सिमित छ
कहीं धाराको टुटीबाट अटेसमटेस गरी झर्छ
कहीं शीतलहर बनेर टप्कंछ
कहीं  हिमालमा हिउँ बनेर झल्कन्छ
कहीं छ यो तातो, कहीं छ यो चिसो
कहीं छ यो सहज, कहीं छ यो दुर्लभ
छैन पानी जतातेतै उस्तै
छैन यो यहाँ तटस्थ
ठाउँ अनुसार उपलब्ध छ
त्यसैले  त यो पानी  हो
पक्षपाती छ र त यो पानी हो ।

जीवनको आधार हो जमिन
तर, जमिन छैन यहाँ तटस्थ
कहीं भीर पाखा बनेर खडाछ
कहीं समतल बनेर लमतन्न सुतेकोछ
कहीं उराठ मरुभूमी बनेर खिन्नछ
कहीं फूल, बंगैंचा र हरियो बनले ढाकेर सुन्दर बनेकोछ
कहीं पानीको आधार बनेको छ
कहीं अन्न उब्जनी गर्ने खेत बनेको छ
कहीं केही  बनेको छ, कहीं केही  बनेको छैन
छैन जमिन जतातेतै  उस्तै
छैन यो यहाँ तटस्थ
ठाउँ अनुसार बदल्छ आफ्नो रुप र रंग

त्यसैले  त यो जमिन  हो
पक्षपाती छ र त यो जमिन हो ।

जब हाम्रो जीवनको आधार नै तटस्थ छैन भने
कसरी गरुँ म तिमीसंग  तटस्थ बन्ने अपेक्षा
कसरी गरुँ म आफैलाई तटस्थ बन्ने अपेक्षा
यहाँ पनि पक्षपात छ
हावा, पानी र जमिन जस्तै
भिन्न भिन्न रुप र रंग छ जीवनको
जीवन कसैको सुख कसैको दुख
जीवन कसैको घाम कसैको छायाँ
खै पक्षपात भनुं वा उपेक्षा
भाग्य भनुं वा प्रकृतिको नियम
जीवन पक्षपाती छ
छैन जीवन सबैको उस्तै
छैन यो यहाँ तटस्थ
भिन्न मानिस भिन्न रुप, रंग र ढंग
त्यसैले  त यो जीवन हो
पक्षपाती छ र त यो जीवन हो ।

लन्डन, बेलायत ।

No comments:

Post a Comment