Sunday, August 19, 2018

दुइटा पृथ्वी – सुनिता खनाल

पुतलीहरुको निम्ति
प्रवेश निषेध लेखिएको फुलबारी हुदैन
चराहरुको पखेटालाई चाहिदैन इन्धन
घर बनाउने माटो किन्नु पर्दैन कमिलाहरुलार्इ
मौरीहरुले तिर्नु पर्दैन महको ट्याक्स
फुलेपछी थाप्दैन फूलका बोटहरुले तलब
पानीले थाप्दैन माछाहरुको निम्ति जाल
माटोले गर्दैन भुइँनिकाला कुनैपनि बिउँलार्इ
रंगहरुको आफ्नै छैन कुनै थरगोत्र
ढुंगाहरुको छैन कुनै राज्य
आकाशले हान्दैन पत्थर पृथ्वीलाई
घामले कहिल्यै कोर्दैन सिमाना
किनभने उनिहरुको देशमा
छैन कुनै कानुन, छैन संविधान,
छैन अधिकारको सबाल।

सबथोक छ तिम्रो देशमा
जहाँ बन्दुक तेस्याएपछी फुल्छ फूल
गोलि हानेपछी चल्छ हावा
मसिना नानिहरुको ओठमा
पटका झोसेपछी आउँछ गणतन्त्र
फूलहरुले लगाउछन ढुङ्गाकै पर्खाल
भगवान कैदी हुन्छ क्रमशः क्रमश ।

स्वास्नीको कोखमा
बढ्दै जान्छ बारुदको भ्रूण !
बेरोजगार आगो
कम्जोर मानिसको जिउ खोज्दै आउँछ।
कम्जोर बस्तिको झ्याल खोल्दै पस्छ
र लुट्छ निर्दोष इन्द्रेणिहरुको सिउँदो।

एउटै पृथ्वीमा
यो दुइटा पृथ्वी बनाउने को हुन् रुरु

बुद्ध मलाई तिम्रो नाममा शंका छ।

No comments:

Post a Comment