Thursday, July 19, 2018

कवितामा आमा - रोशन थापा ‘नीरव’

‌‌‌मलाई थाहा छ
मेरी आमाले
नवजात मेरो फोटो
नाङ्गा स्वरूप श्यामश्वेतको
अझै सँगालेर राखेकी छिन्
आफ्नो मुटुको फ्रेमभित्र ।

अनि पुछेर तरलित आँखाका फ्रेम पनि
अझै सानै छन् आफ्ना सन्तान
भावको सप्काले पुछ्‌दै
सोच्नेछिन् –यही सप्को हो जसमा मेरा सन्तानले
पसिना पुछेका छन्
अबोधताले आफ्नो उमेर खेलेका छन्
यसैले अझै पनि यसमा
मेरा सन्तानको सुवास रहेको छ यथावत्
आमा, आमाले सोच्ने गरेको यो सत्यता
कति युगदेखि अझै छ यथावत्
अझै छ निरन्तर
छैन कुनै बनावटी र परिवर्तित यसमा
छैन कुनै पीडाको रूप
छैन यसैले युगौँयुगौँदेखि परिवर्तित आमा
आमा, आदिमदेखि आजसम्म
र आजदेखि भविष्यसम्म पनि आमा
भावमा आमा
अभावमा आमा
शब्दमा आमा
उपमामा आमा
जति टाढा रहे पनि
ह्रदयमा आमा
समयमा आमा
अलङ्कारमा आमा
झङ्कारमा आमा
शून्यतामा आमा
भवितामा आमा
कवितामा आमा
के आमाभन्दा ठूलो
अरू कविता हुन्छ र संसारमा ?


No comments:

Post a Comment