Tuesday, April 21, 2020

सरकार सुतिरहेको छ - चन्द्र गुरुङ


नहोस् नयाँ दिनको आगमन
हाँगा हाँगामा बसेर
सुरिलो स्वरमा गीत नगाऊ
नचिरबिराऊ ए चराचुरुङ्गीहरू
सरकार सुतिरहेको छ ।
नजन्मियोस् नयाँ सौन्दर्य
नफुलोस् एउटा फूल
कोपिला फूल बनेर नमगमगाओस्
हल्ला गर्दै हूलका हूल भमरा आउने छन्
सरकार सुतिरहेको छ ।
नगाऊ जीवनको कुनै गीत
हर्षोल्लास् मनाउँदै नबग ए खोलाहरू
नाचगान गर्दै ओरालो नजाऊ
पटक्कै नचिच्याऊ
सरकार सुतिरहेको छ ।
ननिस्कियोस् कुनै मीठो धुन
बादल नउडोस्, हावा नचलोस्
रिमझिम वर्षात् नझरोस्
नहोस् कुनै प्रकारको होहल्ला
सरकार सुतिरहेको छ ।
नचम्किए, नचम्कियोस् जून
घाम नउदाए नउदाओस्
ताराहरू नटिलपिलाए नटिलपिलाउन्
भीरपहरा गीत गाउँदै नडुल ए बतास
सरकार सुतिरहेको छ ।
नथालियोस् उमङ्गको यात्रा
ए खुट्टाहरू नयाँ जोशमा नहिँड
यी सहस्र पदचापले
वातावरणको मौनता भङ्ग हुनेछ
सरकार सुतिरहेको छ ।
सरकार सुतिरहको छ साथी
तिमी चुपचाप बस !

 हाल : बहराइन

No comments:

Post a Comment