Monday, July 23, 2018

भूस्वर्ग घुमाउँदा - सोझो गाउँले


 आऊ विदेशी मित्र !
 तिमीलाई मेरो देश देखाउँछु...

 कृष्ण, बुद्ध, मोहम्मद र जिससले
 सँगै डन्डीबियो खेलेको देखाउँछु
 मन्दिर, मस्जिद, गुम्बा र चर्चले
 एउटै विश्वास बाँडेको देखाउँछु

 जगतमा जीवनको ज्योति फिँजाउने
 पशुपतिको गजुर देखाउँछु
 दुनियाँलाई शान्तिको सबक सिकाउने
 लुम्बिनीका परेवाहरु देखाउँछु
 संसारसँग समर्पणको सुपारी साँट्ने
 जानकीको मण्डप पनि देखाउँछु

 स्वाभिमानको धरहराबाट
 सभ्यताको स्वयम्भू देखाएपछि
 मनोकांक्षा पुरा गराउन मनकामना जाऔँला
 मोक्ष प्राप्तिको चाहना राख्यौ भने
 माथि मुक्तिनाथतिर पनि लैजाउँला

 आऊ विदेशी मित्र  !
 तिमीलाई मेरो देश देखाउँछु...

 आकाशलाई अङ्कमाल गरिरहेको सगरमाथा
 र सगरमाथासँगै चुलिएको नेपालीको शान देखेर
 ईर्ष्याले जल्नै आँट्यौ भने
 कृपया !  हिमालको सूर्योदय हेर्नू
 स्वर्गकी रानीको रूपमा लठ्ठिएर
 मन आफैँ मख्ख पर्नेछ

 रारामा डुबुल्की मारिरहेका अप्सराहरु
 र अप्सरासँगै लुकामारी खेलिरहेका पुतलीहरु देखेर
 देवताहरुको देशमा पुगिएछ भन्ने लाग्ला
 पृथ्वीको मानचित्र पल्टाएर हेर्नु
 जुनेली रातमा डाँफे नाच्ने ठाउँ
 त्यही वरपर भेटिनेछ
 शिव(पार्वतीको गाउँ

 खप्तडमा फुलेका सयौँथरि फूलहरु
 र फूलसँग लुकामारी खेलिरहेका पुतलीहरु देखेर
 यो त इन्द्रकै बगैचा हो भन्लाऊ
 एक थुँगा लालीगुराँस नजिकबाट नियाल्नु
 मुस्कुराइरहेको लालीगुराँसको रङ
 र बलभद्रले बगाएको रगतमा
 कुनै भिन्नता भेटिने छैन

 आऊ विदेशी मित्र !
 तिमीलाई मेरो देश देखाउँछु...

 भूस्वर्ग घुमेर स्वदेश फर्किदा-
 एक मानो मैदानको माया लैजानू
 एक पाथी पहाडको हरियाली लैजानू
 हिमालको मुस्कान पनि
 एक मुरी उपहार लैजानू ।।

No comments:

Post a Comment