Sunday, July 8, 2018

एउटा इमेल तिम्रो नाममा – सन्ध्या पहाडी

थेग्न नसकेर रहरै रहरको भारी
डलरसँग साटेर समय
च्यापेर काखीमा हरियो राहदानी
तिमी उड्यौ सपनै सपनाको खाद बोकेर
तिनै सपनाहरूका वीच
रबरको रूखहरूको फेदीमा बसेर
तिमी यतिबेला जीवन खोज्दै छौ होला
रबरका रूखहरूमा फल्दैनन् नोटहरू
बरू जोत आफ्नै माटो
माटोमा सुन फल्छ
बगाउ यही पसिना
पसिनाको मूल्य अवश्य मिल्छ
धेरै सम्झाए मैले तिमीलाई
तर तिम्रो मन किन मान्थ्यो
त्यो त जेटको गति लिएर
जेट चढ्न आतुर थियो ।
थाहा छ मलाई
मेरो नाक कान घाटी
पहोलो रगंले सजाउन
तिमी कैयौं रात
निन्द्रा विहिन भएका छौ
कैयौ पटक भोकै बसेका छौ
स्काईपमा तिम्रा हातहरूमा उठेका
ठेलाहरू देखे,
खुट्टाहरूमा लागेका
चोटहरू हेरे
घामले डढेको तिम्रो मुहार
हेरिरहे निकैवेर हेरिरहे
तर मायाले मुसार्न सकिन

क्वालालाम्पुरको कुनै सपिङमलबाट किनेर
केही दिन अगाडी मात्रै
अत्यन्त प्रेमले तिमीले नै पठाएको उपहार
यो आइफोनबाट तिमीलाई
भर्खरै पठाएकी छु एउटा इमेल
जुन इमेल पढे पछि मलाई लाग्छ
काम्ने छ तिमी मुनिको पृथ्वी
तिम्रा लागि रोकिनेछ बतास
तिमीले एकलो ठान्ने छौ आफुलाई
केवल एक्लो ।
तर माफ गर प्रिय
स्काइपमा भेटेर तिर्सना मेटिदैन रहेछ
इमेलमा लेखेर बेदना नसकिने रहेछ
बाच्ँन जीवनमा एउटा
मायालु चाहिने रहेछ ।
त्यसैले जसको साथमा तिमीले
अत्यन्त प्रेमले यो आइफोन उपहार पठायौ
तिम्रो उपहारका रूपमा उसलाई समेत
आजकल मैले माया गर्न थालेकी छु ।

No comments:

Post a Comment