Tuesday, April 21, 2020

अविरल यात्रा - उषा शेरचन




भारी ट्रक छातीमा बोकेर
गुडिरहेछु निरन्तर
लक्ष्यहीन पथिकझैँ
जीवनपथको संग्राममा
शिशरको निर्मम बलात्कारबाट
नाङ्गिएका कलिला आरूका रुखझैँ
निर्वस्त्र युगसँगसँगै
भौतारिँदै छु निरन्तर
आफ्नै मुटुका रस पिउँदै
कालो-कालो चस्माभित्र पनि
-लुक्न सकेनन् आँखाका नानीहरू
नीलो-नीलो दहभित्र पनि
-चल्न सकेनन् दयामा आँधीहरू
हराएका अनुहार खोज्ने क्रममा
आफैं हराएछु बेपत्तासँग
विराएका बाटा पहिल्याउने क्रममा
आफैं रुमल्लिएछु बेहिसाबसँग
सक्छौ भने आएर सान्त्वना देउ
-डढेलोले खाएको मनलाई
सक्छौ भने पुनः जलाइ देउ
- निभिरहेको दियोलाई
लुक्न नखोज त्यसरी
- आफ्नै आँखाहरूबाट
भाग्न नखोज त्यसरी
-आफ्नै छायाहरूबाट
खोजी गर्नेछन् अनन्त अनन्तसम्म
-यी रुझेका परेलाहरूले
पीछा गर्नेछन् अनन्त अनन्तसम्म
-यी थाकेका पैतालाहरूले !
-यी थाकेको पैतलाहरूले !!






साभार : फेसबुक

No comments:

Post a Comment