Wednesday, July 25, 2018

दिन – होमा कट्टेल

सपनाहरु पोल्ट्याएर
कोरिएका भावनारुपी अक्षर
लाग्छ,
चोर औँला समाएर
टुकुटुकु
हिड्ने मेरो पहिलो सन्तान झैं
रहरको इन्द्रेणी आकासिएको आभासमा
यौवन बटुली रहेछ दिन


अस्तित्व जोगाउँने प्रशिक्षक हाम्री आमा
जीवन र जवानीले छिचोल्ने गहिरा डोबहरु
हुन्देउ नसुन मेरो कथा भो
अदृश्य आत्मामा इतिहास कोरिएको छ
सुक्क–सुक्क आवाजमा
रगतका ढिक्का खसाउँदै आँखाबाट
अत्यासलाग्दा युगका पट्यारिला घारीहरु
छिचोली रहेको छ समय
हो त्यही नापको नाम रहेछ दिन

उसका लागि चम्किलो
त्यसका लागि धमिलो
मेरा लागि त औँसी हो ऊ
आरीले घोप्ट्याए जस्तो झरीमा
अमिलो पोखेसरी
तै पनि छामछुम गरेर घस्रन चाहने
यो कस्तो बाध्यता ?
आसामा सीमित भरोसा
गह्रुँगाे अतित

तरल वर्तमानमा मिसिएर फाटिसकेको छ
दूधमा परेको कागतीको झोल भएर
उ त्यही हो दिन
मैले खुट्याउँन नसकेको निस्पट्ट दिन
निरासाको उपस्थितिमा ।

No comments:

Post a Comment