Wednesday, April 1, 2020

अपहरित शान्ति - असिम सागर


शान्ति ?
कुन शान्ति ?

हेर , ऊ त्यो पर गुम्बामा
भाइरस लागेको एउटा घाइते परेवा
मृत्यु शैय्यामा छट्पटाईरहेछ
उसैको ठिक अगाडि
एउटा ठूलो बुद्धको मुर्ति
पलेटी मारेर रमिता हेर्दैछ
त्यो शान्ति ?

कि त्यही भाइरसले अभिभावक गुमाएको
एउटा अनाथ बालक
आइसोलेसनमा बसेर भोकले रोटी माग्दैछ
तिमी उसलाई कोरोना भनेर
पर पर धपाउँदै छौ
त्यो शान्ति ?

माथि खस्लाजस्तो आकाश
तल खसाउला जस्तो जमिन
बिचमा न उधो न उभोको त्रासपुर्ण जीवन
त्यो शान्ति ?

कि लकडाउनले सुनसान सहर
या मानव संहारपछिको मुर्दा शान्ति !

कुन शान्ति ?

भयो ,
अब शान्तिका कुरा नगरौं
यहाँ हावाले पनि बिस्तारै हिँड्न बिर्सेको छ ।

No comments:

Post a Comment