Sunday, May 12, 2019

निरन्तर शनिबारमा "वान्स माेर"

काठमाडौं । निरन्तर शनिबारको यस पटकको शृङ्खलामा कवि हेमप्रभास र गजलकार जय गौडेललाई निम्त्याइएको थियो । कार्यक्रममा कविता सम्बन्धी आफ्नो राख्ने क्रममा कवि हेमप्रभासले कविताका विषयमा आजसम्म कति धेरै विद्वानहरुले बोलेरलेखे पनि कविताका कुरा नसिद्धिएका र यही नै कविता हो भन्न नसकिएको प्रसङ्ग उप्काउनु भयो ।

कलाका विभिन्न विधाहरुमध्ये कविता श्रेष्ठ भएको र प्रकृतिले दिने आनन्द यसले दिने जिकिर गर्नु भयो । कविता हृदयको स्पन्दन हो भन्दै उहाँले मानिसको जीवन कविताबाट विमुख हुन नसक्ने कुरा बताउनु भयो । कार्यक्रममा कवि हेमप्रभासले पत्रको सरांश, मेरा बा किसान हुन्, तिम्रो भाग्यको निलो पहाड, कवि किस्नेको सपना, नयाँ शताब्दीको बुढो बालक र अधुरो सिलसिला गरी छ वटा कविता सुनाउनु भएको थियो । यसैगरि यस पटकको शृङ्खलामा अर्का अतिथि हुनुहुन्थ्यो गजलकार जय गौडेल ।
कवि हेमप्रभास र गजलकार जय गौडेल दुवैले प्रत्येक रचना प्रस्तुत गर्दा दर्शक दीर्घबाट वान्स माेरकाे अपिल भएकाे  थियाे । 
गजल सम्बन्धी आफ्नो धारणा राख्ने क्रममा गजलकार गौडेलले गजल गेयात्मक विधा भएकाले यसमा लयको पालना अनिवार्य भएको जिकिर गर्नु भयो । शास्त्रीय लयका अलवा लोक लयलाई पनि छान्न सकिने र विभिन्न नेपाली लोक लयमा राम्रा राम्रा गजल लेख्न सकिने कुरा उहाँले बताउनु भयो ।

गजल लेख्दा तुकबन्दी र उक्ति वैचित्रयलाई ध्यान दिनु पर्ने भन्दै एउटा राम्रो गजल लेख्न निकै मिहिनेत र लामो समय पनि लाग्न सक्ने कुरा अनुभव सहित सुनाउनु भयो ।

कार्यक्रममा गौडेलले सबैभन्दा मलाई‘, खडेरी छ बाहिर‘, छातीभरि देश दुख्छ‘, चरी भन्नु मलाई‘गरि चार वटा गजल र ‘मधुसुदन हौ’ शीर्षकको एउटा छन्द कविता पनि सुनाउनु भयो । सहभागीहरुको बाक्लो उपस्थिति रहेको यस पटकको शृङ्खलामा चन्द्रकान्त पौडेल, इन्द्र लम्साल, टेकराज अवस्थी, पूर्णिमा प्रतिविम्ब, सुदर्शन शर्मा, सरोज राई, प्रकाश बम परिश्रमी, तपेन्द्र घोडासैनी, एपी सुमन, रञ्जिता गिरी, रमेश बलामी, पदम दाहाल, प्रीतिका खत्री, शिक्षा नेपाल, नवीन गिरी, रीता पुन, हाेमराज ढुङ्गेल, स्वागत नेपाल, सोझो गाउँले लगायतले आआफ्ना रचनाहरु कविता, गीत, गजल, मुक्तक सुनाएका थिए ।

कार्यक्रम वाल्मीकि विद्यापीठमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम ‘लेटेस्ट नेपाल’ युटुब च्यानलमा पनि हेर्न सकिनेछ र ‘रेडियो अन्नपूर्ण ९४ मेगाहर्ज’बाट आउँदो शनिबार बिहान सात बजे प्रसारण हुनेछ ।

No comments:

Post a Comment