Monday, April 15, 2019

भालेडाक - पदम दाहाल

               
                  (१)
भालेडाक झिकेर रात–दिन नै तानेर लेग्रो स्वर
एक्लै चेतन ल्याउँदो जगतमा डाँको छ चारै तिर ।
भाले ऊ किन कुर्लियो विवशमा बिर्सेर बाक्लो निँद ?
को थ्यौ शासक राजसी खटनका स्रष्टा कि क्वै मानव ?
                  (२)
पोथी ब्याकुल रूष्ट रात छ बरा हल्ला र खल्ला भनी
कस्तो हो रचना र खेल विधिको जन्जाल जाबो जुनी ।
खेला झै किन पूर्व प्रात सहितै निन्द्रा भगायौ किन ?
कसको हर्कत हो कि यो असजिलो ? कसले रचायौ भन ?
                  (३)
भाले उग्र पिरोलिंदै छ बबुरो झिक्तैछ झर्को लय
तारन्तार  छ पूर्वको सृजनको खोज्दोछ सूर्योदय !
नामी नाम घडी–चरो कलियुगे घण्टासँगै उर्लिने !
ढल्की रात बितेर बोल्छ कुखुरी काँ काँ गरी कुर्लिने !

                  (४)
निन्द्रा भोग्न नपाउने किन अरे खस्ता बिहानी पख ?
मान्छे खै छ र कर्मशील गतिलो ? छोड्दैछ हिड्ने पथ !
भाले कर्मठ ऊ छ निष्ठ नियमी छोड्दैन आफ्नो गति
हिंसा झेल्नु परोस् कि सङ्कट विपद् भोगोस् कुनै दुर्गति !
                  (५)
पोथी बास्न हँुदैन रे चलनमा डाँडो कटाइन्छ रे !
किस्ती भोज भतेरमा किसिमका भाले भजाइन्छ रे !
जन्मेथ्यो बिचरो चरो जमिनमा बास्तै थियो हिस्स भो
उज्यालो दिन ज्यान ढल्दछ दुबै भाले ढले झैँ त हो !

                  (६)
स्थावर् जङ्गममा सके जति छिटो संदेश दिदै थियो
आँखा, कान र चेतना सँगसँगै चेतन् भरेकै थियो ।
भालेमा प्रतिशोध के छ र बरा ! कर्तब्य निर्वाह छ
स्वार्थी सोच बुनोट मानव जुनी छल्छाम औडाह छ ।
..........................०...................................

No comments:

Post a Comment