Wednesday, July 18, 2018

म डा. गोविन्द केसी - जीवन खत्री


महाराज 
, डा. गोविन्द केसी
, हजुरको राज्यको सबैभन्दा ठुलो अपराधी
, हजुरको राज्यको सबैभन्दा ठुलो भ्रष्टाचारी
वा, म हजुरको राज्यको सबैभन्दा ठुलो टाउको दुखाइ
हो महाराज
मैले, गरेकै हुँ अपराध
जस्तो कि,
हजुरको गरिबी दर घटाउने मनसाय जानिन
उल्टै गरिबहरूलाई सिटामोल, र जीवन जल बाँडिदिएँ
हजुरको कपाल दुख्दा हजुर त गैजानुभो उडेर
म दौडिँदै गएँ भेरी, कर्णाली र अनकन्टारतिर
कति घाउहरू निचोरेँ, निकालेँ पिप, रगतका धारा
र दलिदिएँ, हृदयको मल्हम घाउ घाउमा
कति मलमुत्र छामे हातैले र बाँडिदिएँ खुसीका औषधीहरू
कतिलाई आफ्नै आयुको एक टुक्रा उपहार दिएँ र
पुछिदिएँ आँखाका आँशुहरू
महाराज
मैले यस्ता अपराध कति गरेँ गरेँ
आफैँले कम खाएर भोकको दबाइ, खुवाएँ भोका बिरामीहरूलाई
आफ्नै हौसलाको सिरिन्जबाट झिकेर, आशाको रगत
बाँडिदिएँ ओइलाई झर्न लागेका कोपिलाहरूलाई
र भनेँ यो देशका लागि बाँच्नुपर्छ तिमी
यो देश तिम्रो पनि हो।
महाराज,
मलाई हजुरको जस्तो सुनको शौचालयमा शौच गर्ने शोख भएन
स्वर्ण दरबारको बार्दलीबाट तल आफ्ना आसेपासेहरुलाई हेर्ने रहर भएन
भतिजा भान्जा र ज्वाइका नाममा विदेशमा अबाैँ राख्ने चाहना पनि भएन
न सयर गर्नै मन लाग्यो सररररर जहाजमा
म त आफ्नै जीवन भाँचेर, भर्न चाहेँ गरिबहरूका हृदय
हो महाराज,
म बाट गल्ती भो
यी हेर्नू न, मैले त यिनै औषधीहरूसँग बिताइदिएँ जिन्दगी र
जीवनभर बिरामीहरूको आँखामा आफ्ना लालाबाला देखेँ
जीवनभर यही देशलाई आफ्नो घर देखेँ
प्रत्येक बिरामीहरूलाई आफन्त देखेँ
र लागिरहेँ जीवनभर आफ्नै मक्किएको हाड घोट्न
तैपनि
घट्दै घटेनन् तन दुखेका बिरामी
झन् झन् बढिरहे मन दुखेका बिरामी
त्यसैले, ती बिरामीभन्दा बरु मै मर्छु भनेर मैले
अलिअलि नियमका कुरा गरेँ
विधि, विधान र गरिब भलाइका कुरा गरेँ
अकालमै दु:खीहरू नमरुन् भनेँ
यही सबैभन्दा ठुलो अपराध भो
हो महाराज, म अपराधी हुँ
"मरे मरोस्" भन्दै त्यसै नछाडिदिनुस् मलाई
होलान्, सिहंदरबारमा पुराना तोपहरू
मेरै छातीमा ताकेर पड्काउनुस्।
होलान्, पुराना जङ्गे तरबारहरू
मेरै घाँटीमा निसाना बनाउनुस्।
वा तातो तेलले डामेर अनुहार
सिफलमा लगी झुन्ड्याइदिनुस्।
किनकि
, डा. गोविन्द केसी
, हजुरको राज्यको सबैभन्दा ठुलो अपराधी
, हजुरको राज्यको सबैभन्दा ठुलो भ्रष्टाचारी
वा, म हजुरको राज्यको सबैभन्दा ठुलो टाउको दुखाइ
म जस्तो अपराधी बाँच्न पाउने कुनै अधिकार छैन।

No comments:

Post a Comment