Monday, October 8, 2018

यसपटको दशैंमा – मातृका पोखरेल

यसपटकको दशैंमा घर जाँदा
मैले ढाक्रेहरुको अनुहारमा देश देखें
उनीहरुको जीवनमै देश भटें,
सत्य हो, नढाँटी भनेको
उनीहरुको सानो ढाकरमै देश देखें ।

बाटामा ढाक्रे दाइहरुले सोधे
भाइ, देश कस्तो छ ?
मैले उनीहरुको ढाकर पछि झुण्डेको
केही पकाउँदा कमेरो माटोले टाल्नुपर्ने,
सिलिबरे भाँडो देखाउँदै भनें
दाइ, देश तपाईंकै भाँडोजस्तो छ
उनीहरुले निधार खुम्च्याएर भने
भाइ, देश त टिठलाग्दो पो रहेछ ।

उनीहरुले ढिंडो ओडाल्दै गर्दा
मजुवा बिसौनीमा सोधे
भाइ, देशको रुप कस्तो छ ?
मैले टारी खेततिर देखाउँदै भनें
ऊ त्यही सिमाना सर्दै–सर्दै आएको,
पल्ला गाउँको जिम्मवालले मिचेको
सत्ते होला दाइ
देश तपाईंकै गैह्री खेतजस्तो छ
उनीहरुले निधार खुम्च्याएर भने
भाइ, देश त दुःखलाग्दो पो रहेछ ।

साहुको घरनेर पुगेर
ढाक्रे दाइहरुले भारीलाई टेको दिँदै सोधे
भाइ, देशले पनि ऋण खान्छ ?
मैले व्यथा सुनाएँ
दाइ, देशले खाएको ऋणले
होम्रो घर–दलान मात्र होइन
तारेभिर पनि डुब्छ रे ।
ढाक्रे दाइहरु रिसले तातेर भने
भाइ, देश त पोल्दो पो रहेछ ।

मैले उनीहरुको अनुहारमा हेरें
चिउँडोबाट दुखिरहेको देश
तप्प–तप्प बगिरहेको थियो
उनीहरुले मलाई हेरिरहेका थिए
म उनीहरुलाई हेरिरहेको थिएँ
यस पटक दशैंमा घर जाँदा ।

                                                                                                                                                                         यात्राको एउटा दृश्य कवितासङ्ग्रह बाट साभार

No comments:

Post a Comment